
३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले जारी केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने दावी गर्नु भएको छ । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सचिव गजुरेलले अध्यक्ष बाहेकका ६ जना पदाधिकारीबाटै संसदीय दलको नेता बन्ने बताउनु भयो । उपाध्यक्ष डा. बाबुराम भट्टराईको सम्भावना प्रवल रहेको भन्दै उहाँले दलको नेता नै प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । जारी केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा नै कार्यविभाजन भएको उल्लेख गर्दै गजुरेलले बैठकले सरकार र संसदको जिम्मेवारी टुङग्याएपछि मात्रै बाँकी नेताहरुका लागि संगठन, अन्तर्राष्ट्रिय र लडाकूको जिम्मेवारी दिने बताउनु भयो । अहिले पार्टीभित्र सबै जिम्मेवारी अध्यक्षमा मात्र निहीत रहँदा निर्णयहरु कार्यान्वयन हुन नसकेको भन्दै उहाँले मुख्य नेताहरुलाई उचित जिम्मेवारी दिइने दावी गर्नुभयो ।
पदाधिकारीको नेतृत्वमा सरकारमा नयाँ टिम पठाउने तयारी भइरहेको भन्दै उहाँले भन्नुभयो-’हामीले मापदण्ड बनाएका तर नेतृत्व र को-को सरकारमा जाने भन्ने विषय टुङग्याइसकेका छैनौं ।’ सचिव गजुरेलले भदौ १४ गतेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी नेतृत्वको सरकार निर्माणका लागि राजिनामा दिने सहमति पहिला नै भएको दावी गर्नु भयो । उहाँले भन्नभुयो-’भदौ १४ गतेपछि माओवादीको नेतृत्वमा सरकार बन्ने पहिला नै सहमति भएकोले पनि माओवादीले सरकारको विरोध नगरेको हो । झलनाथजीको पालो पुग्यो, अब हाम्रो नेतृत्वको सरकार बन्छ ।’ माओवादी र एमालेबीच भएको सातबुँदे सहमतिमा आलोपालो गर्ने उल्लेख रहेको भन्दै उहाँले भदौ १४ गतेपछि प्रधानमन्त्रीले राजीनामा दिने स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment